Tuesday, June 22, 2021
Homeसमाजकोभिड अस्पताललाई हिन्दु स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालको सहयोग

कोभिड अस्पताललाई हिन्दु स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालको सहयोग

हिन्दु स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालले लमजुङको मध्यनेपाल नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताललाई सहयोग गरेका छन् ।

उनीहरूले कोभिडविरुद्धको लडाइँका लागि २ थान १० लिटर र ३ थान ५ लिटरका गरेर कुल ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन् ।

सहयोग सामग्री नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच नगर प्रमुख रमेशकुमार पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख पाण्डेले कोरोना महामारीको समयमा जनताको जीउधनको रक्षा गर्नका लागि सहयोग महत्त्वपूर्ण रहेको भन्दै हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनललाई धन्यवाद व्यक्त गरेका थिए ।

उनले आगामी दिनमा धर्म, संस्कृतिको रक्षा लगायत हिन्दु स्वयंसेवक संघले सञ्चालन गर्ने गतिविधिहरूमा पनि सहयोग एवम् सहकार्य गर्न नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट तत्पर रहको बताए ।

संघका गण्डकी सम्भाग संघचालक ऋषिराम सापकोटाले संघ समाजमा समर्पित संस्था भएको र यसका स्वयंसेवक कार्यकर्ताहरू आफ्नो धर्म, संस्कृति, समाज, देश र राष्ट्रका लागि जुनसुकै अवस्थामा पनि निस्वार्थभावले कार्यरत रहने बताए ।

उनले हिन्दु स्वयंसेवक संघ विचार परिवारले देशव्यापीरुपमा विविध सेवा कार्य गर्दै आइरहेको जानकारी दिए ।

“जहाँ कमी त्यहीँ हामी” भन्दै आवश्यक कार्यका लागि सहयोग गर्न संघ सधैँ तत्पर रहेको प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

हस्तान्तरण समारोहमा मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ, प्रशासकीय अधिकारी वैकुण्ठप्रसाद सापकोटा, वडा ६ का अध्यक्ष विष्णुभक्त पौडेल, कोभिड अस्पतालका प्रमुख डा. सुशील पौडेललगायतको सहभागिता थियो ।

साथै समारोहमा हिन्दु स्वयंसेवक संघ नेपाल गण्डकी सम्भागका संघचालक सापकोटा, सम्भाग प्रचारक नरेन्द्र यरी, कास्की जिल्ला कार्यवाह सागर अधिकारी, संघका स्वयंसेवक सुकर्ण सापकोटालगायतको समेत उपस्थिति थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments